पोषण परियोजनाले कुपोषित बालबालिकाको स्वास्थ्यमा सुधार ल्यायो
बाँके। बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालन भइरहेको ‘जीवनका लागि पोषण’ परियोजनाअन्तर्गत गरिएको संयुक्त अनुगमनमा कुपोषित बालबालिकाको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार देखिएको छ।
बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरेको परियोजनाअन्तर्गत कडा र मध्यम शीघ्र कुपोषण भएका बालबालिकाको उपचार, नियमित अनुगमन तथा पोषण सेवाको प्रभावकारिता मूल्याङ्कन गरिएको हो।
अनुगमनका क्रममा नरैनापुर गाउँपालिकामा कडा शीघ्र कुपोषणका ११२ मध्ये ७१ जना र मध्यम शीघ्र कुपोषणका ३४९ मध्ये २६२ जना बालबालिका उपचार तथा नियमित अनुगमनमा रहेको जानकारी दिइयो। डुडुवा गाउँपालिकामा भने कडा शीघ्र कुपोषणका ८६ मध्ये ७८ जना र मध्यम शीघ्र कुपोषणका ४०७ मध्ये ३६६ जना बालबालिका उपचार तथा अनुगमनमा समावेश भएका छन्।
अनुगमन टोलीले स्वास्थ्य संस्थाको सेवा, अभिलेख व्यवस्थापन तथा समुदायस्तरमा भइरहेको घरदैलो अनुगमन प्रभावकारी रहेको जनाएको छ। घरमै पुगेर गरिएको अनुगमनमा मध्यम शीघ्र कुपोषण भएका बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार देखिएको टोलीले जनाएको छ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले पहिचान भएका सबै कुपोषित बालबालिकालाई समयमै उपचारमा समावेश गर्न र घरदैलो भ्रमणमार्फत अभिभावकलाई आवश्यक परामर्श दिन स्वास्थ्यकर्मी सक्रिय हुनुपर्ने बताउनुभयो।
हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशी देव शाहले स्वास्थ्यकर्मी, पोषण सहजकर्ता र महिला स्वास्थ्य स्वयंसेविकाबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
संयुक्त अनुगमनले सरकारी निकाय, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको तथा प्रभावकारी पोषण सेवामार्फत बाल कुपोषण न्यूनीकरण अभियानलाई निरन्तरता दिइने जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्