तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नेपालमा लिम्बु समुदायले मनाउँदै सिसेक्पा तङ्नाम

ताप्लेजुङ। पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) पर्व मनाइरहेका छन्। किराती समुदाय, विशेषगरी लिम्बुहरूले यो पर्व इष्टदेवको सम्मान, सहकालको कामना र समृद्धिको प्रतीकका रूपमा मनाउने परम्परा रहेको छ।

यस अवसरमा नयाँ पाकेका अन्न, फलफूल तथा अन्य कृषि उपज डोरीमा उनेर घरको मूल ढोकामाथि झुण्ड्याइन्छ। तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलबाट आवश्यक अन्न, फलफूल र पात (च्योङहरू) सङ्कलन गरी ल्याइन्छ। त्यसपछि हरियो बाबियोको डोरी बाटी ती सामग्रीलाई लहरै उनेर घरको मूल ढोकामाथि टाँग्ने चलन रहेको ताप्लेजुङको दोखुका ९५ वर्षीय लालबहादुर पालुङवाले बताउनुभयो।

पर्वका अवसरमा परिवारका सबै सदस्य भेला भएर घरमा उपलब्ध अन्न, फलफूल र विभिन्न परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने परम्परा पनि छ। साँझपख गाउँघरमा बन्दुक पड्काउने, थाल, झ्याम्टा, नाङ्लो र ढोल बजाउने तथा घरभित्र र वरपर घुम्दै अगुल्टो र राँकोको सहायताले खराब तत्वलाई गाउँबाहिर लखेट्ने परम्परालाई ‘साक्लाम्धेक’ भनिन्छ। यसले अनिकाल हटेर सहकाल आओस् भन्ने विश्वास झल्काउँछ।

लिम्बु समुदायले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाउ, मङ्क्रान्ति आउ, अनिकाल जाउ, सहकाल आउ, उपिया जा, रुपिया आ’ भन्ने भाव व्यक्त गर्दै दुःख–पीडा हटेर समृद्धि भित्रियोस् भन्ने कामना गर्ने गर्दछन्।

लिम्बु अध्येताहरूका अनुसार सिसेक्पा तङ्नाम किरात सभ्यताको प्राचीनकालदेखि मनाइँदै आएको पर्व हो। यसको सुरुआत कहिलेदेखि भयो भन्ने यकिन ऐतिहासिक प्रमाण नभए पनि अनादिकालदेखि अनिकाल हटाई सहकाल र समृद्धि बोलाउने चाडका रूपमा मनाइँदै आएको विश्वास गरिन्छ।

यसैबीच, तङ्नामको अवसरमा ताप्लेजुङको फुङलिङसहित विभिन्न स्थानमा सांस्कृतिक तथा शुभकामना कार्यक्रम आयोजना गरिएको याक्थुङ चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङलिबाले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button