तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको हिमालीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको छ भने ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय बाजुराका अनुसार सुदूरपश्चिम प्रदेश ०१-००१ज १८७८ नम्बरको जिप कुवाडी–क्युडी कच्ची सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो । दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढासहित हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा तथा हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा रहेका प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो । 

प्रहरी प्रमुख बोहराका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको र पाँच जनाको अवस्था सामान्य रहेको र घाइतेलाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ। वर्षायाममा कच्ची तथा पहाडी सडकहरू जोखिमपूर्ण हुने भएकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले चालकहरूलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button