तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिकूल मौसमले कर्णालीका हिमाली जिल्लाको हवाई सेवा प्रभावित

मुगु । लगातारको वर्षा, बाक्लो बादल र न्यून दृश्यताका कारण कर्णालीका हिमाली जिल्लाको हवाई सेवा प्रभावित भएको छ। मुगु, जुम्ला, हुम्ला र डोल्पाका अधिकांश विमानस्थलबाट नियमित उडान हुन नसक्दा यात्रु, पर्यटक तथा बिदामा घर फर्किन लागेका शिक्षक समस्यामा परेका छन्।

मुगुको रारा विमानस्थल (ताल्चा)बाट सामान्य अवस्थामा मंगलबार बाहेक साताको छ दिन नेपाल एयरलाइन्स, समिट एयर र सीता एयरले उडान गर्दै आएका छन्। तर केही दिनयता प्रतिकूल मौसमका कारण अधिकांश उडान रद्द भएका छन्। रारा विमानस्थलका प्रमुख नवलकिशोर चौहानका अनुसार मौसममा सुधार आएका बेला मात्रै फाटफुट उडान भइरहेको छ।

उडान अवरुद्ध भएपछि उपचार, अध्ययन, सरकारी काम, रोजगारी तथा अन्य प्रयोजनका लागि जिल्ला बाहिर जानुपर्ने सयौं यात्रु विमानस्थलमै दिनौँदेखि प्रतीक्षारत छन्। लामो समय उडान हुन नसकेपछि धेरै यात्रु जोखिमपूर्ण र कष्टकर सडकमार्ग प्रयोग गर्न बाध्य भएका छन्।

रारा ताल भ्रमणका लागि पुगेका पर्यटक पनि उडान अनियमित हुँदा समस्यामा परेका छन्। पूर्वनिर्धारित यात्रा तालिका प्रभावित भएको छ भने केहीले होटलमा बसाइ लम्ब्याएका छन्। कतिपय पर्यटक भने सडकमार्गबाट गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

मुगुको ताल्चा, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थल हिमाली क्षेत्रमा रहेकाले वर्षायाममा मौसम छिट्टै परिवर्तन हुने भएकाले नियमित उडान सञ्चालनमा कठिनाइ हुने सम्बन्धित विमानस्थलहरूले बताएका छन्।

मौसममा सुधार आएपछि रोकिएका यात्रु र पर्यटकलाई प्राथमिकताका आधारमा गन्तव्यमा पठाइने तयारी गरिएको छ। वर्षायाममा पटक–पटक उडान अवरुद्ध हुने समस्यालाई ध्यानमा राख्दै हवाई सेवा व्यवस्थापन, समयमै सूचना प्रवाह र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button