कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ ।
बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
शुक्रबारदेखि अवरुद्ध भएको सडक शनिबारदेखिनै खुलाउन थालिए पनि पहिरो ठूलो भएकाले अझै केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालयका इन्जिनियर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यसहित सुरक्षा निकायले शनिबार पहिरोको स्थलगत अनुगमन गरिएको प्रसाईँले बताउनुभयो । निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन समेत तीव्र गतिमा नसक्दा समस्या भएको हो ।
सडक डिभिजन कार्यालय बागलुङले पहिरो खुलाउन दुई लोडर तथा एक स्काभेटर प्रयोग गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो ।
पानी निरन्तर परिरहेको र पहिरोग्रस्त क्षेत्रमा जोखिम भएकाले समयमै सडक खुलाउन नसकिएको सुवेदीको भनाई छ । साउन १ गतेदेखि करिडोरको बलेवा–गुल्मी सम्मको सडक खण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको हो ।
जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माका अनुसार पहिरोका कारण कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथ जाने पर्यटकहरू फर्केका छन् भने बागलुङ हुँदै पाल्पा बुटवल जाने यात्रुहरू समेत फर्किन बाध्य भएका छ ।
पहिरोका कारण जैमिनी नगरपालिका–८ छिस्ती जाने मुख्य सडक पनि अवरुद्ध भएको उपप्रमुख शर्माले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्