विद्युत् सेवा अवरुद्ध हुँदा टर्चको भरमा सुत्केरी सेवा

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा टर्च लाइटको भरमा सुत्केरी सेवा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
स्थानीय लघु जलविद्युत आयोजना दुई महिनादेखि बन्द भएपछि स्वास्थ्य चौकी अन्धकारमा परेको हो । विद्युत् अभावका कारण रातिको स्वास्थ्य सेवा प्रभावित बनेको छ भने सुत्केरी सेवा समेत टर्चको उज्यालोमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्य चौकीकी अनमी शान्ती पन्तले स्वास्थ्य संस्थामा रहेको टर्च लाइट चार्ज गर्न समेत करिब आधा घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि समस्या समाधानका लागि कुनै पहल नभएको उहाँको गुनासो छ ।
स्वास्थ्य चौकी इन्चार्ज महेश बोहराले स्थानीय लघु जलविद्युत आयोजना बन्द भएपछि सम्पूर्ण स्वास्थ्य सेवा अन्धकारकै भरमा सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा रहेको एउटा टर्च लाइट नै सेवा सञ्चालनको मुख्य आधार बनेको छ । तर, त्यसलाई चार्ज गर्नसमेत निकै कठिनाइ हुने गरेको र चार्ज लामो समयसम्म नटिक्ने समस्या रहेको उहाँले जानकारी दिनुभयो ।
यता, डिलाशैनी गाउँपालिका–२ का वडा अध्यक्ष नवराज घरडीले सय किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माणाधीन अवस्थामै रहेकाले नियमित विद्युत् आपूर्ति हुन नसकेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीको सोलार मर्मतका लागि गाउँपालिकासँग पटक–पटक आग्रह गरिए पनि सुनुवाइ भएको छैन । राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि दुई वर्षअघि ल्याइएका पोल र तार समेत अझै अलपत्र अवस्थामा रहेका छन् ।
यसैबीच, तत्कालका लागि समस्या समाधान गर्न गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गणेश बोहरासहितको टोली सानो क्षमताको सोलार जडान गर्न कोटपेटरा स्वास्थ्य चौकी पुगेको स्वास्थ्य चौकी इन्चार्ज बोहराले जानकारी दिनुभयो ।
स्थानीयवासीले मातृ तथा शिशु स्वास्थ्यजस्तो अत्यावश्यक सेवा प्रभावित नहुने गरी स्वास्थ्य चौकीमा भरपर्दो विद्युत् व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्