तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्ग अवरुद्ध: पूर्वी पहाडको जनजीवन प्रभावित

इलाम। लगातारको वर्षापछि मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध हुँदा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ।

सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारण, व्यवसायी तथा यातायात क्षेत्रले सास्ती खेपिरहेका छन्।

सडक अवरुद्ध भएपछि इलाममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको छ। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलका अनुसार राजदुवाली सडकखण्ड बन्द भएपछि केही खाद्यान्न तथा अत्यावश्यक सामग्री पाँचथर हुँदै वैकल्पिक मार्गबाट ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेको र त्यसको प्रत्यक्ष असर बजारमा पर्ने उहाँले बताउनुभयो।

उहाँका अनुसार सडक बन्दको असर इलाममा मात्र सीमित छैन। ताप्लेजुङ र पाँचथरबाट उपचारका लागि झापा तथा अन्य स्थान जाने बिरामी र उनीहरूका आफन्त पनि समस्यामा परेका छन्। आकस्मिक बिरामीको आवतजावतसमेत कठिन बनेको उहाँको भनाइ छ।

यातायात व्यवसाय पनि सडक अवरुद्धको प्रत्यक्ष मारमा परेको छ। पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाका अनुसार मुख्य सडक बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। अधिकांश स्थानमा फोर–ह्विल ड्राइभ  (४WD)  सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। कठिन सडक, लामो दूरी र जोखिमपूर्ण यात्राका कारण सञ्चालन खर्च बढेको तथा यातायात व्यवसायीले थप आर्थिक भार व्यहोर्नुपरेको उहाँको भनाइ छ।

यता जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार राजदुवाली सडकखण्ड सञ्चालनमा ल्याउन सम्बन्धित निकायले निरन्तर काम गरिरहेको छ। तर सडकमा पुगेको क्षति धेरै भएकाले पूर्ण रूपमा सञ्चालनमा आउन अझ केही समय लाग्ने उहाँले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी ढकालकाका अनुसार हाल वैकल्पिक सडकमार्फत कठिनाइका बीच सवारीसाधन सञ्चालन भइरहेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सरोकारवाला निकायले सडक यथाशीघ्र सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ। तर सडक खुल्न ढिलाइ भए खाद्यान्न आपूर्ति, यातायात सेवा, व्यापार–व्यवसाय तथा स्वास्थ्य सेवामा थप असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button