तपाईँ सुन्दै हुनुहुन्छः

जातीय विभेद तथा छुवाछुतविरुद्ध मुगुमा सहभोजको आयोजना

मुगु । हिमाली जिल्ला मुगुको एकमात्र नगरपालिका छायानाथ रारा नगरपालिका ले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सहभोज कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरू एउटै स्थानमा बसेर भोजन गर्दै सामाजिक समानता, एकता र भाइचाराको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णुकुमार भामले जातीय विभेद सामाजिक अपराध भएको उल्लेख गर्दै यसलाई कानुनमा मात्र सीमित नराखी व्यवहारमै अन्त्य गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाहिरबाट छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम रहेको भन्दै जातीय आधारमा छुवाछुत गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो।

नगर प्रमुख भामले दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान तथा परम्परागत पेशाको संरक्षण–प्रवर्द्धनका लागि देशका ७५३ स्थानीय तहमध्ये पहिलोपटक छायानाथ रारा नगरपालिकाले दलित नीति तथा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो।

दलित अधिकारकर्मी बलराम शाहनीले जातीय विभेद अन्त्यका लागि व्यवहारिक अभ्यास आवश्यक रहेको बताउँदै सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो। 

कार्यक्रममा बोल्दै दलित हेल्प डेस्कका कर्मचारी कालीबहादुर नेपालीले सहभोज सामाजिक रूपान्तरणको महत्त्वपूर्ण कदम भएको बताउँदै जातीय विभेद अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले जातमा होइन मानवतामा विश्वास गर्नुपर्ने, व्यक्तिलाई क्षमताका आधारमा सम्मान गर्नुपर्ने र व्यवहारबाटै छुवाछुत अन्त्य नगरेसम्म यसको वास्तविक अर्थ नहुने बताउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button