तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधिमैत्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध’

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधिमैत्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको विषयगत समितिको बैठकमा मन्त्री डा. तिमिल्सिनाले जनतालाई सचेत र शिक्षित बनाउनु मिडियाको प्रमुख जिम्मेवारी रहेकाले लोककल्याणकारी विज्ञापनको नियमन गर्न आवश्यक रहेको बताउनुभयो । 

मन्त्री डा. तिमिल्सिनाले पुराना कानुनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकताअनुसार नयाँ कानुनी सुधारलाई प्राथमिकता दिँदै संसद्लाई प्रभावकारी कानुन निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री डा. तिमिल्सिनाले सूचना तथा सञ्चार क्षेत्रका समस्या समाधानमा तीन तहका सरकारबीच समन्वय अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सूचना तथा सञ्चार क्षेत्रका निकायहरूमा विषयगत समस्याको एकीकृत जानकारी आवश्यक रहेको बताउँदै प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा सञ्चार तथा सूचना क्षेत्रको विकासलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो।

बैठकमा सञ्चार तथा सूचना क्षेत्रका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सरोकारवालाहरूले सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट बढ्दो भ्रामक सूचना र साइबर अपराध नियन्त्रण गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताउनुभयो ।

सरोकारवालाहरूले प्रेस पास वितरणका लागि आधिकारिक निकायमार्फत सरल र पारदर्शी प्रणाली अवलम्बन गर्नुपर्नेमा समेत जोड दिनुभयो।

बैठकमा विभिन्न विभाग र निकायका प्रमुखहरूले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि बीमा सुनिश्चितता तथा अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण प्रक्रियालाई सरलता बनाउनुपर्ने सुझाव दिनुभयो ।

मन्त्रालय अन्तर्गत विषयगत समितिको पहिलो बैठक आधिकारिक रूपमा सञ्चालन गर्न बैठकको सुरुमा विषयगत समितिको बैठक तथा निर्णयसम्बन्धी कार्यविधि २०८३ पास गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button