तपाईँ सुन्दै हुनुहुन्छः

“प्रसौनी प्रिमियम लिग २०८३” क्रिकेट प्रतियोगिता सुरु 

वीरगंज । वीरगन्जको प्रसौनी बिर्तामा आजदेखि चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग २०८३” क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

युवाहरू माझ खेलकुदको विकास गर्दै आपसी सद्भाव, अनुशासन तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समाजसेवी लालबाबु यादवले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले समाजमा एकता, सद्भाव र अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ को आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रसौनी लायन्स, रोयल्स च्यालेन्जर्स बैरिया, राइजिङ स्टार तथा सफु किंग्स गरी चार क्रिकेट टोलीको सहभागिता रहेको छ । 

कार्यक्रम संयोजक सुजित साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमालेका नेता भोला यादव, नेपाली कांग्रेसका नेता धुरुप यादव, वडा सदस्य कान्ति देवी, युवा समाजसेवी फैयाज अन्सारीलगायत स्थानीय अगुवा, खेलप्रेमी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले युवालाई दुर्व्यसनबाट टाढा राख्न तथा स्वस्थ समाज निर्माण गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button