खजुरामा निःशुल्क स्वास्थ्य शिविर: २९० जना बढी लाभान्वित
नेपालगञ्ज । गणतन्त्र दिवसका अवसरमा बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २९० भन्दा बढी बिरामी लाभान्वित भएका छन् । प्रहरी कर्मचारी तथा स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो ।

नेपालगञ्जस्थित लाइफ लाइन हस्पिटलको आयोजनामा सम्पन्न शिविरमा करिब ९० जना आँखा सम्बन्धी समस्या भएका बिरामीको आँखा परीक्षण गरिएको थियो भने ८५ भन्दा बढी बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण समेत गरिएको आयोजकले जनाएको छ । लाइफ लाइन हस्पिटल प्रालिका प्रबन्ध निर्देशक तथा दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठले पछिल्लो समय नसर्ने रोगहरू प्रकोपकै रूपमा बढ्दै गएको उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षणको अभावमा धेरै व्यक्ति विभिन्न रोगको सिकार भइरहेको बताउनुभयो । स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न तथा परीक्षणको पहुँच बढाउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
शिविरसँगै प्रादेशिक रक्तसञ्चार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । शिविरमा बाँकेका विभिन्न अस्पतालमा कार्यरत करिब १२ जना चिकित्सक, १४ जना नर्सिङकर्मी तथा ३ जना प्रयोगशालाकर्मीको सहभागिता रहेको थियो । मुटु रोगका बिरामीको परीक्षण भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. विपिन आचार्यले गर्नुभएको थियो भने मिर्गौला रोगसम्बन्धी सेवा भेरी अस्पतालका फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा। पारस श्रेष्ठले प्रदान गर्नुभएको थियो । त्यसैगरी दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठ, फिजिसियन डा. क्रिस्टिन नामोक श्रेष्ठ, इएनटी सर्जन डा. कपिल शाही, कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नाग, मेडिकल अफिसर सङ्कल्प सिग्देल, मूत्र रोग विशेषज्ञ डा. प्रवीण गुप्ता तथा फिजियोथेरापिष्ट बिहानी श्रेष्ठ लगायतको टोली शिविरमा खटिएको थियो ।
शिविर अघि आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, बाँकेका प्रहरी प्रमुख अङ्गुर जीसी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षण, व्यायाम र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेका छन् । उनीहरूले समयमै सचेत हुन सके धेरै रोगबाट बच्न सकिने बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्