तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक: मुख्यमन्त्री कार्की

विराटनगर । गणतन्त्र दिवस २०८३ को अवसरमा आज (शुक्रबार) बिहान विराटनगरमा बृहत् प्रभातफेरी आयोजना गरिएको छ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा निस्किएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

विभिन्न जातजातिका झाँकी र बाजागाजासहित निस्किएको प्रभातफेरीमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरू, राष्ट्रसेवक कर्मचारी, उद्योगी–व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङको परिसरबाट सुरु भएको प्रभातफेरी विराटनगरस्थित वीरेन्द्र सभागृह (हालको प्रदेशसभा हल) पुगेर कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्रको उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताउनुभयो। नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कारण मुलुकमा युगान्तकारी परिवर्तन सम्भव भएको उल्लेख गर्दै उहाँले यसको संस्थागत विकासमा जोड दिनुभयो।

“लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नेपालको वर्तमान र भविष्यको बलियो आधार हो,” मुख्यमन्त्री कार्कीले भन्नुभयो, “लोकतान्त्रिक संविधानको रक्षा गर्दै गणतन्त्रलाई अझ सुदृढ, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु आजको मुख्य आवश्यकता हो।” उहाँले प्रदेश सरकार मुलुकमा सुशासन र समृद्धि कायम गर्ने दिशामा दृढताका साथ अघि बढेको समेत दाबी गर्नुभयो।

पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रको आधारमाथि नै अविश्वास फैलाउने प्रवृत्तिहरू देखिन थालेको भन्दै उहाँले त्यस्ता तत्त्वहरू प्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो।

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रभातफेरी र झाँकीमा सहभागी भएका एक दर्जन विभिन्न जाति तथा समुदायका टोलीहरूलाई नगद पुरस्कारसहित कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button