तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रकाे रक्षा अपिरहार्य : मुख्यमन्त्री शाह

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको बताउनु भएको छ ।

१९औँ गणतन्त्र दिवसको अवसरमा आज धनगढीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र समावेशिताको शासन प्रणाली भएको बताउनुभयो । 

संविधान र गणतन्त्रको रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

 ‘गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्यमान्यता, समावेशी विकास, सामाजिक न्यायप्रति अझ प्रतिबद्ध  बन्न हामी सबैलाई प्रेरणा मिलोस्, उहाँले भन्नुभयो ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी तथा सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्नुहुँदै सरकार समृद्ध प्रदेश निर्माण अभियानमा  केन्द्रित रहेको बताउनु भयो ।

मुख्यमन्त्री शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाएर लैजान सरकार लागिपरेको र त्यसका लागी सरोकारवाला सबैको सहयोग, सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भिम बहादुर भण्डारी, पूर्वमुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य, सरकार कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button