तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले किसानका लागि समयमा मलको व्यवस्थापन, विपद्बाट हुने क्षति न्युनिकरण, लागुऔषध दुर्व्यसनीको बढ्दो समस्या न्यनिकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले देशमा लागु औषध दुर्व्यसनी सामाजिक, आर्थिक र राष्ट्रिय समस्या बन्दै गएको  तथा ३० वर्षभन्दा कम उमेरका युवा दुर्व्यसनीमा बढी देखिएको तर्फ समयमा नै ध्यान जानुपर्ने बताउनुभयो ।

सांसदहरुले वर्षा शुरु हुँदा समेत मलको अभाव रहेको र सहज रुपमा मल नपाउँदा किसानले खेती लगाउन नपाइरहेको भन्दै समयमा नै मलको व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको बताउनुभयो ।

सांसदहरुले देशका विभिन्न भागमा रहेका गुठीलगायतका भूमि समस्याका समाधान गरी सबै नागरिकलाई भूमिको हक स्थापित गर्न माग गर्नुभयो । 

सांसदहरुले निर्माणाधीन संसदभवनमा कुन देशको काठबाट बनाइएको हो भनेर प्रश्न गर्दै नेपाली काठको सदुपयोग गर्न तथा संसद् भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो । 

सांसदहरुले देशको पहाडी तथा ग्रामीण भेगमा बाँदरबाट अन्नबाली जोगाउन किसानहरु दिनभरी बाँदर कुरेर बस्न बाध्य भइरहेको भन्दै समस्या समाधानका लागि प्रभावकारी उपायको खोजी गर्न माग गर्नुभयो । 

सांसदहरुले वर्षा शुरु हुन लागेको भन्दै बर्षाले ल्याउन सक्ने विपद् जोखिमबाट देशभरका नागरिकलाई जोगाउने गरी पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो ।

उपत्यकाको ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भागमा खानेपानीको अभाव रहेको भन्दै सांसदहरुले सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न माग गर्नुभयो । 

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रतिनिधिसभाको निर्माणाधीन हललाई गरिमामय र संसदीय अभ्यास अनुकूल बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अगामी बजेट भाषण संसद् भवन सञ्चालन गरी संसद् भवन सञ्चलनमा ल्याउन लागिएको विषय सकारात्मक निर्णय भएपनि सभाका सीटहरू फिल्म हलको जस्तो र टेबलहरू कक्षा कोठाका जस्तो बनाउने कोसिस गरिएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

उहाँले वर्तमान सरकारले पूर्ववर्ती सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासलाई भत्काउनतिर केन्द्रित भएको आरोप समेत लगाउनुभयो ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रुलिङ नगरेको भन्दै आजको बैठक पनि बहिस्कार गर्नुभयो ।

बैठक शुरु भए लगत्तै अध्यक्ष राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने  माग दोहो¥याउँदै विरोध गर्नुभयो ।  

अध्यक्ष राईले नियमावलीको नियम १५ को २ बमोजिम प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यसो गर्न नसके आफूलाई नियमावलीको नियम ३१ को १ बमोजिम निष्कासन गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button