‘हावा चल्दा कापी उड्छ, पानी पर्दा आङ भिज्छ’: मुगुका विद्यार्थी टिनको टहरोमा पढ्न बाध्य

मुगु। मुगुको सोरु गाउँपालिका–७ मा रहेको सिप आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सुरक्षित कक्षाकोठा अभावमा जस्तापाताको जोखिमपूर्ण टहरोभित्र बसेर पढ्न बाध्य भएका छन् ।
राज्यले ‘सबैका लागि शिक्षा’ र ‘गुणस्तरीय शिक्षा’ को नारा अघि सारे पनि दुर्गम भेगका विद्यार्थीको वास्तविक अवस्था भने निकै कष्टकर देखिएको छ ।
कक्षा १० मा अध्ययनरत बालसुन्दरी बिष्ट विगत केही वर्षदेखि जस्ताको टहरोमै बसेर पढ्दै आएकी छन् । सुविधा सम्पन्न विद्यालयमा पढ्ने इच्छा हुँदाहुँदै पनि बाध्यताले हावाहुरी र वर्षा छेक्दै टहरोभित्र अध्ययन गर्नुपरेको उनले बताइन् ।
“हावा चल्दा कापी किताब उड्छ, पानी परे भिज्छ । शहरका साथीहरू राम्रो भवनमा पढिरहेका होलान्, हामी भने टिनको टहरोमा बसेर पढिरहेका छौँ,” उनले दुःखेसो पोखिन् ।

उनी मात्र होइनन्, कक्षा ८ मा अध्ययनरत महेन्द्र बिष्टसहित निम्न माध्यमिक तहदेखि माध्यमिक तहसम्मका अधिकांश विद्यार्थी जस्ताको टहरोमै अध्ययन गर्न बाध्य छन् । प्राथमिक तहमा केही सामान्य कक्षाकोठा भए पनि माथिल्ला कक्षाका लागि पर्याप्त भवन नहुँदा विद्यालयले अस्थायी टहरोमै पढाइ सञ्चालन गरिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक रत्नराज चौलागाईका अनुसार कक्षाकोठा अभावकै कारण विद्यार्थीलाई जस्ताको टहरोभित्र राखेर पढाउनुपरेको हो । “हावाहुरी र वर्षा छेक्दै विद्यार्थीलाई पढाउनुपरेको छ,” उनले भने, “दुर्गम बस्तीका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षा दिन आवासीय विद्यालय सञ्चालन गरिएको हो, तर पूर्वाधार अभावले निकै समस्या भइरहेको छ ।”

उनका अनुसार विद्यालयमा भवन, सुरक्षित कक्षाकोठा, छात्रावास, खानेपानी, पुस्तकालय तथा शौचालयजस्ता आधारभूत सुविधा समेत अभावमा छन् । सरकारले तथा गैरसरकारी निकायहरूले विद्यालयको अवस्थालाई गम्भीर रूपमा लिएर सहयोग गर्नुपर्ने उनले माग गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर बिष्टले गाउँघरका विद्यार्थीलाई सहज रूपमा शिक्षा उपलब्ध गराउने उद्देश्यले आवासीय विद्यालय स्थापना गरिएको बताए । तर, पर्याप्त पूर्वाधार नहुँदा शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न कठिनाइ भइरहेको उनको भनाइ छ ।
“समुदाय मिलेर टिनको टहरो बनाएर पढाइ सञ्चालन गरेका छौँ,” उनले भने, “सुरुवातमै धेरै कठिनाइ भए पनि आगामी दिनमा विद्यालयप्रति सबैको ध्यान जाने आशा गरेका छौँ ।”
अभिभावक टेकबहादुर बिष्टका अनुसार विद्यालयमा कक्षाकोठा नै नभएको अवस्थामा शौचालय, पुस्तकालय र खानेपानीको अवस्था झन् दयनीय छ । “अहिले दुःख गरेर पढेपछि पछि सुख पाइएला भन्ने आशामा बालबालिकालाई पढाइरहेका छौँ,” उनले भने, “जिल्लाभरिकै भौतिक पूर्वाधार अभाव भएको समस्याग्रस्त विद्यालयमध्ये यो पनि एक हो ।”
जस्ताको टहरोमा पढ्दा विद्यार्थीहरूले मौसमअनुसार विभिन्न समस्या भोग्नुपरेको छ । गर्मीयाममा जस्तापाता अत्यधिक तातेर कक्षाभित्र बस्नै नसकिने अवस्था हुने गरेको छ भने वर्षायाममा पानी पर्दा जस्तामा बजारिने आवाजले पढाइ प्रभावित हुने गरेको अभिभावकहरू बताउँछन् ।
आवासीय विद्यालय भनिए पनि विद्यार्थीको बसाइको अवस्था समेत दयनीय रहेको छ । एउटै टहरोभित्र कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको विद्यालय स्रोतले जनाएको छ ।
दुर्गम क्षेत्रका बालबालिकाले पनि सहरका विद्यार्थीसरह सुरक्षित र गुणस्तरीय वातावरणमा पढ्न पाउनु उनीहरूको मौलिक अधिकार हो । तर सोरु गाउँपालिकास्थित यस विद्यालयको अवस्थाले राज्यको शिक्षा नीतिमाथि नै प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
स्थानीय अभिभावक, नागरिक अगुवा तथा जनप्रतिनिधिहरूले कर्णाली प्रदेश सरकार, शिक्षा मन्त्रालय तथा गाउँपालिकासँग तत्काल बजेट व्यवस्थापन गरी सुरक्षित विद्यालय भवन निर्माण गर्न माग गरेका छन् ।
सिप आवासीय माध्यमिक विद्यालयमा सिप, बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानीलगायत बस्तीका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्