तपाईँ सुन्दै हुनुहुन्छः

यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय सुनिश्चित गरिने

'रेडियो नेपालबाट प्रसारित कानुनसम्बन्धी कार्यक्रमहरूले गाउँघरमा कानुनी शिक्षाको पहुँच बढाएको छ'

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मन्त्री गौतमले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन तथा समय सीमाभित्र सम्पन्न नभएका आयोजनाहरू सम्बन्धी मुद्दा मामिलाको छिटो समाधानका लागि कानुनी परामर्श प्रक्रिया सहज बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।

बैठकमा मन्त्री गौतमले सबै कानुन सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउँदै संक्रमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढाउन जनशक्ति व्यवस्थापन तथा पीडितमैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री गौतमले डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध न्यूनीकरण तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था लागू गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री गौतमले रेडियो नेपालबाट प्रसारित कानुनसम्बन्धी कार्यक्रमहरूले गाउँघरमा कानुनी शिक्षाको पहुँच बढाएको समेत बताउनुभयो ।

बैठकमा सांसदहरूले गरिबीको रेखामुनि रहेका समुदायका लागि न्याय सुनिश्चितता, एआईको दुरुपयोग नियन्त्रण र स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

सांसदहरूले सबै जिल्ला र प्रदेशमा न्यायिक सेवाको पहुँच विस्तार गर्न र अदालत सेवाको दायरा बढाउन नीतिगत पहल गर्न मन्त्री गौतमको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button