१० महिनामा वीरगञ्जबाट १ खर्ब ८१ अर्ब बढीको इन्धन आयात
वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष ०८२/०८३ को बैशाख मसान्त सम्ममा १ खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको इन्धन आयात भएको छ ।
विगत केही समय यता मध्यपूर्वी देशहरूमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा २५ अर्ब ५३ करोड बढीको इन्धन आयात वीरगञ्ज नाकाबाट भएको भन्सार तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्ष ०८१/०८२ मा वीरगञ्ज नाकाबाट १ खर्ब ५६ अर्ब १७ करोड मूल्य बराबरको इन्धन आयात भएको थियो ।
वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १ खर्ब ५७ करोड मूल्य बराबरको डिजेल आयात भएको छ भने सो अवधिमा ३५ अर्ब ७९ करोड मूल्य बराबरको पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
त्यसैगरी साउनदेखि बैशाख मसान्तसम्म वीरगञ्ज नाकाबाट २५ अर्ब ५४ करोड मूल्य बराबरको खाना पकाउने एल.पी ग्याँस आयात भएको छ भने सो अवधिमा १८ अर्ब ४३ करोड मूल्य बराबरको हवाई इन्धन आयात भएको छ ।
त्यसैगरी वीरगन्ज नाकाबाट ३७ करोड मूल्य बराबरको मट्टितेल आयात भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।
गतवर्षको तुलनामा इन्धन आयात मध्ये एल पी ग्याँस आयात कम भएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा ४ अर्ब ७४ करोड मूल्य बराबरको खाना पकाउने एल पी ग्याँसको आयात कम भएको भन्सार तथ्याङ्कले देखाएको छ ।
वीरगञ्ज नाकाबाट गतवर्षको १० महिनामा ३० अर्ब २८ करोडको एल पी ग्याँस आयात भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्