तपाईँ सुन्दै हुनुहुन्छः

बजेट पूर्वको छलफल: खाद्य गुणस्तर परीक्षण बढाउन र कृषिमा आत्मनिर्भर हुन सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उपसचिवहरूसँग गरिएको छलफलमा सांसदहरुले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनुपर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई–कमर्स प्रवद्र्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र सचिव डा. राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वराशक्ति अभिवृद्धि, कृषियोग्य भूमि र वन क्षेत्रको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकता दिँदै यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पिछडिएका समुदाय, जेन–जी घाइते र शहीदका परिवारलाई लक्षित गरी सीप विकास तालिम र युवा वर्गहरूका लागि आन्तरिक रोजगारी प्रवद्र्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत पर्ने पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन थप बजेट आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button