मानव बेचबिखन विरुद्ध जानकीमा दुईदिने सचेतना
बाँके। मानव तथा चेलीबेटी बेचबिखनजस्तो गम्भीर सामाजिक अपराध विरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने “मानव तथा चेलीबेटी बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि” तालिम बुधबार सम्पन्न भएको छ ।
मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना तथा जानकी गाउँपालिकाको आर्थिक सहयोगमा मंगलबारदेखि सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खाँले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकानाथ यादव, सामाजिक विकास समितिका संयोजक रामअचल धोबीलगायतले मानव बेचबिखन नियन्त्रणका लागि समुदायस्तरमै सचेतना विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
तालिमको पहिलो दिन मानव अधिकारकर्मी तथा पत्रकार आलम खानले मानव तथा चेलीबेटी बेचबिखनको परिचय, वर्तमान अवस्था, सामाजिक प्रभाव तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो । उहाँले मानव बेचबिखन आधुनिक दासताको रूप भएको उल्लेख गर्दै यस विरुद्ध सामूहिक सचेतना र प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्माला पौडेलले मानव बेचबिखनका कारण, जोखिमका कारक, महिला तथा किशोरीमा पर्ने असर, कानुनी प्रावधान तथा मानव अधिकार संरक्षणका विषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पीडितको पहिचान तथा सिफारिस संयन्त्र, स्थानीय सरकारको भूमिका, उद्धार तथा संरक्षण प्रणालीबारे जानकारी गराउनुभएको थियो । उहाँले स्थानीय तहको सक्रियता बिना मानव बेचबिखन नियन्त्रण प्रभावकारी हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
दोस्रो दिन गाउँपालिकाकी योजना शाखा प्रमुख शोभा पौडेलले लैङ्गिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै सूचना प्रविधि अधिकृत विकास जिसीले मिडिया, वकालत तथा सामुदायिक जागरूकता अभियानसँगै विद्युतीय अपराध सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको संस्थाकी सचिव शरिला धर्तिमगरले जानकारी दिनुभयो ।
सहायक शिक्षा अधिकृत झुमा वलीले सुरक्षित आप्रवासन तथा जागरूकता रणनीतिका विषयमा सहजीकरण गर्नुभएको थियो भने मानव अधिकारकर्मी आलम खानले सामुदायिक कार्ययोजना तयारीलगायतका विषयमा छलफल गराउनुभएको थियो ।
तालिममा विद्यार्थी, शिक्षिका तथा विभिन्न क्षेत्रका सरोकारवालासहित करिब ७० जनाको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट मानव बेचबिखन, लैङ्गिक हिंसा तथा असुरक्षित आप्रवासनका जोखिमबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
आयोजकले यस्ता जनचेतनामूलक तालिमले समुदायमा सकारात्मक सोच विकास गर्नुका साथै मानव बेचबिखन न्यूनीकरणमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्