तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्ने सांसदहरूकाे जाेड

काठमाडौँ I राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले स्वास्थ्य बीमाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकासमा बजेटको प्रभावकारी उपयोग गर्नुपर्ने बताउनुभयो ।

सांसदहरूले महिला हिंसा न्यूनीकरणका साथै पिछाडिएका समुदाय र सडकमा अलपत्र परेका बालबालिकाको क्षमता विकास र शिक्षामा विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रका पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि संघ र प्रदेश तहमा पर्याप्त बजेट विनियोजन तथा नीतिगत सुधार आवश्यक रहेको जानकारी गराउनुभयो ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले नेपालको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागिता बढाउन तथा खेलकुदका संरचना र पूर्वाधार  विकास गर्न नीतिगत सुधार आवश्यक रहेको औँल्याउनुभयो ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका अर्यालले दलित र विपन्न वर्गको सशक्तीकरण, सामाजिक विभेदको न्यूनीकरण, मानव बेचबिखन रोकथाम र बालबालिकाको अधिकार सुनिश्चिततामा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विद्यालय शिक्षा क्षेत्रलाई प्रविधिमैत्री तथा अपाङ्गमैत्री बनाउँदै विपन्न वर्गका विद्यार्थीहरूका लागि समावेशी शैक्षिक वातावरण सिर्जना गर्न मन्त्रालयले प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button