तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सांसदहरूको जोड

काठमाडाैँ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरि समयमै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले देशभरका सडक निर्माण कार्यक्रममा गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिनुहुँदै राजमार्गहरूको निर्माण कार्य चाडै अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसदहरूले विपन्न वर्गको सुरक्षाका लागि आवश्यक आयोजनाको विकास, गाउँमा शून्य भएका विद्यालय तथा बसोबासविहीन भएको बस्तीहरूको उचित व्यवस्थापन तथा सिँचाइ आयोजनाको प्रभावकारी व्यवस्थापन गरी कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सडकहरूको स्तरोन्नति र सुरक्षा अभिवृद्धि, वैकल्पिक राजमार्ग विकास आयोजना र शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले जलस्रोत संरक्षण आयोजनाको प्रभावकारिता बढाउने तथा प्रसारण लाइन र जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपत गर्ने रणनीति तयार भइरहेको जानकारी दिनुभयो ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुराना खानेपानी आयोजनाहरूलाई समय सीमाभित्र सम्पन्न गर्न उचित बजेट व्यवस्थापन गरिसकेपछि मात्र आवश्यकता आधारमा नयाँ खानेपानी आयोजनाहरूलाई प्राथमिकता दिइनुपर्नेमा सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button