तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी युगद्रष्टा सहयोद्धा हुनुहुन्थ्यो, जबज मौसमी लोकप्रियता कमाउने औजार होइन: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

मदन–आश्रितको स्मरण गर्दै अध्यक्ष ओलीले मदन भण्डारी केवल नेता वा मित्र मात्र नभएर एक युगद्रष्टा सहयोद्धा भएको उल्लेख गर्नुभएको छ।

शनिबार (जेठ ३ गते) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले ३३ वर्ष अगाडि चितवनको दासढुङ्गामा भएको रहस्यमय घटनामा मदन–आश्रितलाई गुमाउनुपर्दाको पीडा अझै ताजा रहेको बताउनुभएको हो। “घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्,” उहाँले भन्नुभएको छ।

कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने ‘जनताको बहुदलीय जनवाद (जबज)’ को प्रणेताका रूपमा मदन भण्डारीको योगदानको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभएको छ:

“जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। यसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो।”

उहाँले जबजको सोही मार्गचित्रलाई आफूहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढाएको र पछिल्लो दशकमा त्यस अभियानले मानवीय तथा भौतिक पूर्वाधारको विकासमा स्पष्ट परिवर्तन ल्याउन थालेको समेत दाबी गर्नुभयो।

मदन भण्डारीसँगको आफ्नो निकटता स्मरण गर्दै अध्यक्ष ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको तथा जीवराज आश्रित एक कुशल संगठक हुनुभएको उल्लेख गर्नुभयो। मदन–आश्रित र आन्दोलनले जन्माएका कयौँ अग्रजहरू आज शारीरिक रूपमा साथमा नभए पनि उहाँहरूको विचार र योगदान राजनीतिक यात्रामा सधैँ दीपस्तम्भझैँ मार्गदर्शक रहने उहाँको भनाइ छ।

अध्यक्ष ओलीले जबजको वैचारिक विरासतले आफूहरूलाई निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन सधैँ प्रेरित गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button