तपाईँ सुन्दै हुनुहुन्छः

अब रौतहटमा पनि घरमै राहदानी सेवा सुरु

रौतहट । रौतहटका सेवाग्राहीले अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयको सहकार्यमा बिहीबारदेखि घरमै राहदानी बुझ्न सकिने नयाँ व्यवस्था औपचारिक रुपमा लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार राहदानी आवेदन दिने सेवाग्राहीले आफ्नो पासपोर्ट जिल्ला प्रशासन कार्यालयबाट आफैँ बुझ्ने वा हुलाकमार्फत घरमै प्राप्त गर्ने भन्ने विकल्प रोज्न सक्नेछन् । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले आवेदन फाराम भर्ने क्रममा रु. ५५ बराबरको हुलाक टिकट खरिद गरी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको ठेगानामै सुरक्षित रुपमा पुर्‍याउनेछ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यो व्यवस्था सेवाग्राहीमैत्री सुधारको महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले राहदानी लिन पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले हुलाक सेवामार्फत सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियानलाई नयाँ व्यवस्थाले थप प्रभावकारी बनाउने बताउनुभयो । 

उहाँका अनुसार यसबाट आम नागरिकलाई ठूलो सहजता हुनुका साथै हुलाक सेवाको प्रभावकारिता र विश्वसनीयता पनि थप मजबुत हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button