पोखरामा मालती मङ्गले टोली: सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने दाबी

पोखरा । बहुप्रतीक्षित नेपाली चलचित्र मालती मङ्गलेको कलाकार तथा निर्माण टिम यतिवेला पोखरा आइपुगेको छ । यही बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी गरेको उक्त चलचित्रको प्रचारप्रसार गर्न पनि टोली यतिवेला पोखरामा आएको चलचित्र पत्रकार संघ नेपाल कास्कीले आज (शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता तथा चर्चित गायक रामकृष्ण ढकालले मालती मङ्गले विशुद्ध सामाजिक यथार्थमा आधारित फिल्म भएको बताउनु भयो । चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई पर्दामा उतार्ने प्रयास गरेको उहाँले जनाउनु भयो । यो फिल्म केवल मनोरञ्जनका लागि मात्र होइन, दर्शकलाई सोच्न बाध्य पार्ने खालको पनि , विशेषगरी श्रीमान्–श्रीमतीबीचको प्रेम, विश्वास र पारिवारिक सम्बन्धको गहिरो पक्षलाई फिल्मले प्रस्तुत गर्ने उहाँको विश्वास छ ।
नायिका वर्षा राउतले मालती पात्र आफ्नो अभिनय जीवनकै सबैभन्दा चुनौतीपूर्ण र महत्वपूर्ण भूमिका भएको बताउनु भयो । सामाजिक कथामा आधारित फिल्म भएकाले दर्शकबाट सकारात्मक प्रतिक्रिया आउनेमा उहाँ आशावादी हुनुहुन्छ । यसैगरी, नायक विजय बराल मङ्गलेको भूमिकामा देखिनु भएको छ भने गाउँघरको परिवेशमा आधारित कथाले दर्शकलाई आफ्नै जीवनको झल्को दिने विश्वास व्यक्त गर्नुभयो । हास्यव्यङ्ग्यबाट चिनिनु भएको कलाकार मेक्सम गौड्याल यस फिल्ममा फरक भूमिकामा देखिनु भएको छ । विजय बरालको भाइको रुपमा प्रस्तुत हुने उहाँको पात्रले कथामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
रानी फिल्मस्को ब्यानरमा निर्माण गरिएको मालती मङ्गले मा रामकृष्ण ढकालको प्रस्तुति तथा लगानी रहेको छ । प्रकु पाण्डेय को निर्देशनमा बनेको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुनुहुन्छ। गाउँघरको परिवेश, पारिवारिक सम्बन्ध, प्रेम र यथार्थ कथालाई समेटेको यो फिल्मले दर्शकलाई भावनात्मक रुपमा जोड्ने निर्माण टिमको विश्वास छ ।








प्रतिक्रिया राख्नुहोस्