चीनसँगको फलाक नाका सञ्चालनको पहल
दोलखा । दोलखासँग जोडिने चीनको फलाक नाका सञ्चालनको लागि सरकारले सडकको स्तर उन्नति र सीमा क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगर स्थित फलाक नाका पुग्ने लामाबगर– फलाक ८ किलोमिटर सडक दुई नीजि जलविद्युत आयोजना सानीमा र दुगड, विगु गाउँपालिका र बागमती प्रदेश सरकारको पहलमा निर्माण भइरहेको छ । करिब ५ सय मिटर सडक निर्माण भएपछि फलाक नाकासम्म यातायात सञ्चालन हुने विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तामाङ बताउँछन् । लामाबगर– फलाक ८ किलोमिटर सडक मध्य माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम नजिक ११४५ मिटर सुरुङमार्ग निर्माण गरिएको छ ।
लामाबगरको प्रवेश मार्ग दोलखा– सिंगटी ३६ किलोमिटर र सिंगटी– लामाबगर २८ किलोमिटर सडक माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सहयोगमा निर्माण भएको हो ।
चीन– नेपाल– भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको सडकले चीनसँगको सिमाना दोलखाको फलाक नाकाबाट भारतसँगको सिमाना महोत्तरीको भिटामोडसम्म जोड्ने विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताए ।
त्रिदेशी छोटो मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको फलाक–भिटामोड सडक मध्य लामाबगरबाट फलाकसम्मको ८ किलोमिटर सडकको स्तरउन्नती र तामाकोशी तथा जुम खोला र लप्ची खोलामा पक्की पुल निर्माण गरियो भने चीनसँगको रसुवा र तातोपानी नाकाको विकल्पमा फलाक नाका सञ्चालन हुनसक्ने स्थानीयको भनाई छ ।
चीन तर्फबाट फलाक नाकासम्म सडक आइसकेको र त्यहाँबाट झण्डै ३० किलोमिटरको दूरीमा उनीहरूको रोङसिया बजार रहेको विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तामाङले बताए ।
विगतमा फलाक नाकाबाट कुती हुँदै चीनसँग व्यापार हुने भएकोले सरकारले २०२५÷०२६ सालबाटै लामाबगरमा भन्सार कार्यालय स्थापना गरेको स्थानीय बताउँछन् । यो कार्यालय २०४५ सालसम्म राम्रैसँग सञ्चालनमा रहेको भए पनि त्यसयता भने साइनबोर्डमा मात्र सीमित रहेको स्थानीयको गुनासो छ ।
फलाक नाकाको विषयमा अध्ययन गर्न दोलखाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल र स्मृति सेञ्चुरी, जिल्ला समन्वय समितिका प्रमुख बर्जूराम घतानी, प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक प्रमुख, जनपथ र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख लगायतको टोली स्थलगत पुगेको थियो ।
सांसद जगदीश खरेलले फलाक नाका नेपालको लागि महत्वपूर्ण रहेकोले यो नाका खुलाउन र लामाबगरबाट फलाकसम्मको सडकको स्तर उन्नतिको लागि आफूले पहल गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्