मुख्यमन्त्री बानियाँ भक्तपुर नगरपालिकाको स्थलगत अवलोकनमा
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन गर्नुभएको छ ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभा भवनको स्थलगत अवलोकन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण लगायत आफ्नै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुभयो ।
स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता बानियाँले ब्यक्त गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाले प्राचीन सभ्यतासँग जोडेर यहाँको मौलिक भाषा, संस्कृति र सम्पदा संरक्षण गर्दै आएकोमा खुशी व्यक्त गर्दै बागमती प्रदेशका ११९ वटा स्थानीय तहहरूमध्ये जनताप्रति उत्तरदायी भएर कार्य गर्ने भक्तपुर नगरपालिका अग्रणी रहेको चर्चा गर्नुभयो ।
भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको लागि प्रदेशबाट हुनसक्ने सहयोगको लागि सधैँ तत्पर रहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरूले गरिबमुखी, आयमुखी र जिम्मेवारीपूर्वक सेवा गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले सह लगानीमा जोड दिनुहुँदै भक्तपुर नपाले अघि सारेका सम्पदा पुनःनिर्माण लगायत विकास निर्माणको लागि सशर्त, समानीकरण वा समपूरक अनुदानको व्यवस्थाको लागि प्रदेशबाट आवश्यक पहल गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल र ख्वप तिलगंगा आँखा अस्पतालको सेवा प्रवाह र सम्पदा संरक्षणबारे अवगत गराउनुभयो ।
ख्वप अस्पताल ११ घण्टा ओपिडी सेवा सहित ३६५ दिन खुल्ने एकमात्र अस्पताल भएको भएतापनि एमआरआई मेशिनको अभावमा सेवाग्राहीहरूलाई उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिकाले कला, संस्कृति र सम्पदा संरक्षणलाई अगाडि बढाउँदै नगरवासीहरूको शिक्षा र स्वास्थ्यलाई ध्यान दिँदै व्यापक जनताको हितको निम्ति काम गरिरहेको हुँदा यस अभियानलाई टेवा पु¥याउन प्रदेश स्तरबाट आगामी वार्षिक बजेटमा भक्तपुर नगरपालिकालाई प्राथमिकतामा राख्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्