तपाईँ सुन्दै हुनुहुन्छः

बिस्केट जात्रा अन्तर्गत आज चौथो दिन भेलुखेलमा लिङ्गो उभ्याइँदै

भक्तपुर । नववर्षको आगमनसँगै सुरु भएको भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन आज  ५५ हात लामो लिङ्गो उभ्याईंदैछ । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा अहिले साँझ लिङ्गो उभ्याउने तयारी गरिँदै छ  । 

हजारौँ जात्रालुको सहभागितामा लिङ्गो उभ्याउन सुरु गरिन्छ । नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् । लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् । 

यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ । 

भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिङ्गोलाई डोरीको सहायताले सयौँ मानिसले तानेर उठाइन्छ । विस्का जात्रामा लिङ्गो उठाउने भएकैले यो ठाउँ ल्योसिंखेल (लिङ्गो उठाउने ठाउँ) को नामले सुपरिचित छ । सयौँ मानिसले एकसाथ डोरी तानेर उठाउनुपर्ने भएकाले लिङ्गो उठ्ने समय अनिश्चित हुने गरेको छ । 

५५ हात लामो लिङ्गो उठाउन मुश्किल पनि हुने भएकाले कुनै वर्षहरुमा उक्त दिन लिङ्गो नउठ्ने गरेको पनि इतिहास छ । साथै कुनै वर्ष लिङ्गो राति १०ः०० बजे मात्रै उठाउन सकिएको इतिहास पनि छ ।

लामो लिङ्गो उठाउनुपर्ने भएकाले कहिलेकाहीँ उठाउँदा उठाउँदै भाँचिने पनि गरेको छ । त्यसो हुनाले एउटा मात्रै लिङ्गो उठाउने भए पनि अर्को एउटा थप जगेडा गरी जात्रा स्थलमा दुई वटा लिङ्गो राखिन्छ । ताकि पहिला उठाउन सुरु गरेको लिङ्गो उठाउने क्रममा भाँचियो भने अर्को उठाउन सकियोस् ।

लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।

बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button