तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सन्थाल गोल्डकप: हल्दिवारी एफसी च्याम्पियन

द्रपुर, झापा । लोपोन्मुख समुदायमा गनिने सन्थाल समुदायका खेलाडी मात्र समावेश गरी झापामा सञ्चालित प्रथम सन्थाल गोल्डकपको उपाधि झापाकै हल्दिबारी फुटबल क्लबले जितेको छ ।

बिर्तामोडस्थित डामालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाजलाई पराजित गर्दै हल्दिबारीले उपाधि चुमेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । खेलको ५५ औँ मिनेटमा हल्दिबारी एफसीको तर्फबाट शिखर मर्डीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने अतिरिक्त समयमा आयोजकका तर्फबाट श्याम मुर्मूले गोल गर्दै टिमलाई १–१ को बाबरीमा पुर्‍याए ।

ट्राइब्रेकरमा दुवै टिमबाट १–१ गोल रोकिएपछि ४–४ को बराबरी भएको थियो । सडनडेथमा हल्दिबारी एफसीका तर्फबाट १ गोल रक्षा भएपछि हल्दिबारीले गरेको १ गोल नै निर्णायक बनेको थियो ।

उपाधि विजेता हल्दिबारीले नगद १ लाख रुपैयाँ, शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा आयोजकले उपविजेता बन्दै नगद ६० हजार रुपैयाँ र शील्ड प्राप्त गर्‍यो ।

खेलको म्यान अफ द म्याच विजयी टिमका गोलकर्ता शिखर मर्डी भए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजकका तर्फबाट श्याम मुर्मू घोषित भए, त्यस्तै उत्कृष्ट गोल किपर हल्दिबारी एफसीका दिनेश बेस्रा घोषित भए । त्यसैगरी, खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका आयोजक टिमका मिसन हस्दा उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री एकराज कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा लगायतले पुरस्कार वितरण गरेको आयोजक समितिका संयोजक टिका हस्दाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button