तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको ७६औँ वार्षिकोत्सव: शास्त्रीय सङ्गीत सम्मेलन सम्पन्न

काठमाडौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आज शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेको छ । 

बिहान ११ बजेको समाचार पछि सुरु भएको शास्त्रीय सङ्गीत सम्मेलनको शुभारम्भ समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालले सूचना प्रवाह, शिक्षाका साथै कला–संस्कृतिको प्रवर्द्धनमा विगत देखिनै महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष डा विष्टले आज भएको सबै शास्त्रीय सङ्गीत प्रस्तुतिहरू अभिलेखमा सुरक्षित राखिने र शास्त्रीय सङ्गीतलाई स्वदेशी तथा विदेशी श्रोतासम्म विभिन्न माध्यमबाट प्रसारण गरिने योजना रहेको पनि उल्लेख गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले यस्ता किसिमका साङ्गीतिक सम्मेलनले सङ्गीत क्षेत्रको प्रवर्धनमा बल पुग्ने भएकाले आगामी दिनमा पनि गीत सङ्गीतका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले सङ्गीत क्षेत्रको प्रवर्द्धनका लागि रेडियो नेपालबाट साङ्गीतिक सम्मेलन र प्रतियोगिताको आयोजनालाई वार्षिक रूपमा निरन्तरता दिइने बताउनुभयो । 

सिंहदरबारस्थित रेडियो नेपालको सङ्गीत स्टुडियो भवनमा आयोजित सम्मेलनमा विभिन्न छ वटा समूह तथा नेपालका प्रख्यात शास्त्रीय सङ्गीतकारहरूले आ–आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभयो ।

सम्मेलनमा भैरव, कलावती, यमन, शुद्ध सारंग लगायतका विभिन्न रागहरूको प्रस्तुति भएको थियो ।

तस्बिर : राेम थापा

प्रतिक्रिया राख्नुहोस्

Back to top button