तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ज्येष्ठ पत्रकारलाई औषधोपचार खर्च वितरण, शुद्धीकरण र सुदृढीकरणको संकल्प प्रस्ताव पारित

भद्रपुर, झापा | नेपाल पत्रकार महासंघ झापाले काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गर्दै महासंघको ७१औँ स्थापना दिवस मनाएको छ।

सोमबार मेचीनगर नगरपालिकाको सहकार्यमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले गर्नुभएको थियो।

कार्यक्रममा जिल्लाका ६५ वर्षमाथिका १३ जना ज्येष्ठ पत्रकारलाई जनही १५ हजार रुपैयाँका दरले वार्षिक वृत्ति वितरण गरिएको थियो। वृत्ति प्राप्त गर्नेहरूमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरो सान्दाई, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल रहेका छन्।

महासंघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’को ब्याजबाट २०८० सालदेखि ६५ देखि ७५ वर्ष उमेर समूहका ज्येष्ठ पत्रकारलाई वार्षिक १५ हजार रुपैयाँ तथा सोभन्दा माथिका ज्येष्ठ पत्रकारलाई २० हजार रुपैयाँसम्म औषधोपचार खर्च प्रदान गर्दै आएको छ।

सोही अवसरमा पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ। महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजीको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त संकल्प–पत्र सहभागीहरूको सुझावका आधारमा संशोधनसहित पारित गरिएको हो।

संकल्प–पत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पत्रकारिताको स्वच्छता र व्यवसायीकरण, क्षमता अभिवृद्धि तथा जवाफदेहिता लगायतका विषय समेटिएका छन्।

कार्यक्रमका वक्ताहरूले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि आचारसंहिताको कडाइका साथ पालना तथा पत्रकारहरूको क्षमता विकासमा जोड दिएका थिए।

कार्यक्रमको दोस्रो सत्रमा विषय केन्द्रित अन्तरक्रिया गरिएको थियो। उक्त समितिमा पूर्व अध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार लोकराज ढकाल, सल्लाहकार डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा र कोषाध्यक्ष मुक्ति पौडेल सदस्य रहेका थिए।

अन्तरक्रियामा पूर्व अध्यक्ष चिन्तामणि दाहाल, गणेश पोखरेल, सल्लाहकार राजेन्द्र गौतम, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस युनियन झापाका सचिव तथा फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले पत्रकारिता क्षेत्र सुधारका लागि सुझाव दिएका थिए।

यसैगरी पत्रकारहरू गगन ढकाल, प्रविण अधिकारी, राजबाबु शंकर, युवराज आचार्य, सन्तोष आचार्य, विजय भट्टराई, अनिल ढुंगाना, शिशिर चम्लागाईं, सावित्रा दाहाल, उत्तम रिजाल, खगेन्द्र घिमिरे, देवेन्द्र प्रसाईं, उमाकान्त खनाल लगायतले विभिन्न समस्या तथा सुझाव प्रस्तुत गरेका थिए।

अन्तरक्रियामा आचारसंहिता उपाध्यक्ष सुब्रत न्यौपानेले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष मुक्ति पौडेलले राख्नुभएको थियो।

कार्यक्रम काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button