तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा रणनीतिक विपद् व्यवस्थापनका लागि ८ पालिका एकजुट

बाँके। बाँके जिल्लामा सिजनअनुसार आउने विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन रणनीतिक रूपमा काम सुरु गरिएको छ। जिल्लामा आगलागी, तातो हावा (लू), बाढी–डुबान तथा शीतलहरजस्ता मौसमी विपद् न्यूनीकरणका लागि जिल्लास्तरीय रणनीति निर्माणमा जोड दिइएको हो।

डुडुवा गाउँपालिका, बाँकेको आयोजनामा सम्पन्न अन्तरपालिका समन्वय बैठकमा जिल्लाका सबै स्थानीय तहहरू जोखिम न्यूनीकरण, पूर्वतयारी तथा स्रोत–साधनको समुचित परिचालनका लागि एकजुट भएर अघि बढ्ने सहमति गरेका छन्।

बैठकमा सहभागी पालिका प्रमुखहरूले गर्मीयाममा हुने आगलागी र लू, वर्षायाममा आउने बाढी तथा डुबान तथा जाडो मौसममा शीतलहरजस्ता सम्भावित विपद्का लागि समयमै पूर्वतयारी गरी प्रभावकारी कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाँके जिल्ला विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले जिल्लाका ८ वटै पालिकाले विपद् न्यूनीकरणका लागि आवश्यक संयन्त्र विकास, स्रोत–साधन व्यवस्थापन तथा आपसी सहयोगमार्फत प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “स्थानीय तहबीच समन्वय बैठक मात्र गरेर हुँदैन, बैठकमा भएका निर्णय र प्रस्ताव तत्काल कार्यान्वयनमा लैजानुपर्छ। त्यसो भए मात्र विपद् व्यवस्थापन प्रभावकारी बन्छ र जोखिम न्यूनीकरणमा वास्तविक सहयोग पुग्छ।”

त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न पहल भइरहेको जानकारी दिँदै जिल्लास्तरमै सबै स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले गर्मीयाममा आगलागीका घटनाहरू बढ्ने सम्भावना उच्च रहेकाले दमकल व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अग्नि नियन्त्रणका लागि प्रभावकारी संयन्त्र र पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, जिल्लाका आठ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विपद् फोकल पर्सन तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार बैठकमा सबै पालिकाका विपद् फोकल पर्सनहरूले आ–आफ्नो प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button