प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशगत समस्या र आवश्यकताहरूलाई विस्तृत रुपमा प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सांसदहरूलाई तत्काल गर्नुपर्ने, बजेट आउनु अघि सम्पन्न गरिसक्नुपर्ने र आगामी बजेटमार्फत गर्नुपर्ने गरि तीन किसिमका कामहरूको विस्तृत जानकारी माग्नुभयो ।
प्रधानमन्त्री शाहसँगको छलफलमा कर्णालीका सांसदहरुले राजमार्गमा कालोपत्रेको व्यवस्था गर्न, स्वास्थ्य बीमा रकमको भुक्तानी गर्न, सहकारी ठगी रोक्न र पीडितलाई राहत दिनुपर्ने लगायतका विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको जुम्लाबाट निर्वाचित राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।
त्यसैगरी, प्रधानमन्त्री शाहसँगको छलफलमा कोशी प्रदेशका सांसदहरुले प्रदेशको पूर्वाधार निमार्ण, प्रविधिमैत्री शिक्षाको विकास र विपद् जोखिम न्यूनीकरण लगायतका विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
कोशीका सांसदहरुले कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनले देशको अर्थतन्त्रमा मदत पुग्ने भएकाले ती क्षेत्रको विकास र लगानीमा ध्यान दिन अनुरोध गरेको इलामबाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जानकारी दिनुभयो ।
छलफलमा केही सांसदहरूले आ–आफ्ना क्षेत्रका आवश्यकताहरू प्रस्तुत गर्नुभयो भने केही सांसदहरूले थप अध्ययनपछि प्रतिवेदन बुझाउने जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्