तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन जलविद्युत योजनामा कार्यरत सम्पर्क विहीन युवा मृत अवस्थामा फेला

ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन अपर तमोर जलविद्युत आयोजनामा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन्। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका ४० वर्षीय यमराज लिम्बू मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका–१ गैरी गाउँ निवासी लिम्बू उक्त आयोजनामा कार्यरत थिए।

प्रहरीका अनुसार लिम्बूको शव चैत १५ गते फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेन खोलामा फेला परेको हो। उनी फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित निर्माणाधीन अपर तमोर जलविद्युत आयोजनाबाट २०८२ साल फागुन ८ गते घर जाने भन्दै हिँडेका थिए।

लामो समयसम्म परिवार तथा कार्यस्थलसँग सम्पर्कमा नआएपछि उनलाई बेपत्ता भएको भन्दै २०८२ साल चैत १ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलास निवेदन परेको थियो।

निवेदनपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो। चैत १५ गते मेथेन खोलामा बेवारिसे शव फेला परेको सूचनापछि प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले हुलियाका आधारमा शवको पहिचान यमराज लिम्बूको रूपमा गरेको जनाएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button