तपाईँ सुन्दै हुनुहुन्छः

झापाका ७ लाख बढीलाई जेई खोप लगाइँदै

भद्रपुर, झापा । करिब डेढ महिनाभित्र ६ जनाको मृत्यु भएपछि झापामा जापानी इन्सेफलाइटिस (जेई)–विरुद्धको खोप लगाइने भएको छ ।

देशभरिमा सबैभन्दा बढी प्रभावित झापामा यस वर्ष ११ जना संक्रमित भएकोमा ६ जनाको मृत्यु भइसकेको छ । जेई प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको हो । 

बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका ३० वर्ष भन्दामाथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ । झापामा ३० वर्षभन्दा माथिका ७ देखि ८ लाख जनसङ्ख्या रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा जेईबाट चार महिला र दुई पुरुषको मृत्यु भएको छ । हालसम्म मेचीनगरमा दुई तथा हल्दिवारी,बाह्रदशी , बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको हो । मेचीनगरका ५, हल्दिवारीका १, बाह्रदशीका १, कचनकवलका १, बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको, दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा जेई सङ्क्रमणबाट हुने मृत्युदर ६० प्रतिशत छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button