कटारीमा टिपरबाट झण्डै दुई क्विन्टल गाँजा बरामद, चालक पक्राउ
उदयपुर। उदयपुरको कटारीबाट प्रहरीले टिपरमा लुकाएर लैजाँदै गरिएको झण्डै दुई क्विन्टल गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले टिपर चालकलाई समेत पक्राउ गरेको छ ।

कटारी नगरपालिका–४ मरुवा खोला नजिक आइतबार राति प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना७ ख ८१७३ नम्बरको टिपर जाँच गर्ने क्रममा १९९ किलो ३२० ग्राम गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले टिपरको ढालाभित्र लुकाइछिपाइ राखिएका ९ वटा बोराबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रुपन्देही घर भई हाल कटारी नगरपालिका-४ कान्छी बजार बस्ने टिपर चालक सोम मगरलाई नियन्त्रणमा लिएको छ।
बरामद गाँजा ठूलो परिमाणमा रहेकाले संगठित रूपमा लागूऔषध ओसारपसारमा जोडेरसमेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका मगरमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया राख्नुहोस्