पार्टीमा बृहत् एकताका लागि कांग्रेसका मध्यमार्गी नेताहरूको प्रयास सुरु

भक्तपुर । नेपाली काँग्रेसलाई एक ढिक्का बनाउने प्रयास स्वरूप नेपाली कांग्रेसका मध्यमार्गी नेताहरूले प्रयास थालेका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आउँदो नियमित महाधिवेशनका निम्ति पार्टीका सबै नेता कार्यकर्ताले जस्तोसुकै त्याग गर्न तयार हुनुपर्ने पार्टी एकता पक्षधर नेताहरूको भनाई छ ।
एकताको प्रयास स्वरूप आज भक्तपुरमा आयोजित भेलामा नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थले पार्टीका नेता जो र जुन पक्षका भए पनि देश र जनताको हित तथा लोकतन्त्रको रक्षाका लागि पार्टीभित्र व्यापक र बृहत् एकताका लागि तयार हुनुपर्ने बताउनुभयो ।
नेता कायस्थले सबै पक्षलाई समेटेर भावनात्मक एकता र साझा स्वामित्व सुनिश्चित नगरेसम्म कांग्रेस बलियो हुन नसक्नेमा जोड दिनुभयो ।
विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्दै नेता तारा बहादुर कोइरालाले कांग्रेस र मुलुक र जनताको हित हुनेगरी एजेण्डा सहितको एकतामा जानुपर्ने बताउनुभयो ।
नेता मोहन बरालले विगतका असहमति र विवाद पन्छाउँदै आन्तरिक एकतालाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।
भेलामा कांग्रेसका पुराना नेताहरू लव प्रसाद न्यौपाने ,पुष्पराज पराजुली, बालकृष्ण पौडेल, रमेश खरेल, सन्तोष भट्टराई, प्रेमध्वज लामालगायत तीन दर्जन सहभागी हुनुहुन्थ्यो ।
विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको बताउँदै आवश्यक परे ‘साझा आयोजक समिति’ बनाएर नियमित महाधिवेशनमा जानुपर्ने नेताहरूको जोड छ ।








प्रतिक्रिया राख्नुहोस्