तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइयो

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाएको छ । 

वडा नम्बर २० राँझामा फुटपाथ क्लियर गर्ने क्रममा त्यसमाथि बनाइएका अवैध संरचना हटाउन डोजर चलाइएको हो । नेपाल आयल निगम चोकदेखि सरोजिनी मेमोरियल पोलिक्लिनिक चोकसम्मको सडकको दुबैतर्फ डोजर चलाइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

फुटपाथ निर्माण कार्यको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको थियो । मुख्य सडकदेखि दुबैतर्फ दुई दुई मिटर चौडाइको फुटपाथ बनाउन लागिएको हो । दुवैतर्फको लम्बाई २६०० मिटर छ । नगर प्रमुख विष्टले देश विदेशका पर्यटकहरू नेपालगञ्ज विमानस्थल भएर ओहोरदोहोर गर्ने महत्वपूर्ण सडक भएकोले यसको सौन्दर्यीकरण र व्यवस्थापन थालिएको बताउनुभयो । उहाँले विमानस्थलबाट मानिसहरू आउँदा पहिलो दृष्टि नै यसमा पर्ने भएकोले राम्रो सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । दोस्रो चरणमा राँझा चोकसम्म पनि विस्तार गर्ने योजना रहेको नगर प्रमुख विष्टले बताउनुभयो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोवी लगायतको उपस्थिति थियो । 

२ करोड १५ लाखमा ठेक्का खोलेकोमा गाउँले कन्स्ट्रक्सन/पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले २ करोड ७ लाख ९९ हजार २ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दन दासले जानकारी दिनुभयो । सम्झौता अवधि असार १५ गतेसम्म भए पनि निर्माण कम्पनीले २० देखि २५ दिनभित्र काम सक्ने दाबी गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button