क्षयरोग विरुद्ध अभियान जारी, स्याङ्जामा १६० संक्रमित भेटिए
स्याङ्जा । स्याङ्जामा क्षयरोग अझै जनस्वास्थ्यको प्रमुख चुनौतीको रूपमा देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा १६० जना क्षयरोगका बिरामी पहिचान भएका छन् भने ५ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भीरकोट नगरपालिका, बिरुवा गाउँपालिका, चापाकोट नगरपालिका, वालिङ नगरपालिका र गल्याङ नगरपालिकामा क्षयरोगका कारण एक एक जनाको मृत्यु भएको हो ।
विश्व क्षयरोग निवारण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कार्यालयले जिल्लाको अवस्था सार्वजनिक गर्दै नियन्त्रण र उन्मूलनका लागि भइरहेका प्रयासबारे जानकारी दिएको हो । कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
हाल जिल्लाका विभिन्न पालिकामा क्षयरोग विरुद्धका कार्यक्रम सक्रिय रूपमा सञ्चालन भइरहेका छन् । निःशुल्क परीक्षण, औषधि वितरण र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा म्इत्क् विधिबाट उपचार सेवा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
पालिकागत तथ्याङ्क हेर्दा वालिङ नगरपालिकामा सबैभन्दा बढी ५० जना संक्रमित रहेका छन् भने फेदीखोला गाउँपालिकामा सबैभन्दा कम २ जना बिरामी भेटिएका छन् । अन्य पालिकामध्ये पुतली बजारमा ११, भीरकोटमा १३, आँधी खोलामा ४ र अर्जुनचौपारीमा ५ जना बिरामी रहेका छन् ।
नेपालभरको अवस्थाले पनि क्षयरोगको चुनौतीलाई स्पष्ट पार्छ । प्रत्येक वर्ष करिब ६९ हजार नयाँ बिरामी थपिने र झण्डै १६ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउँदै सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्यमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्