वर्षाका कारण रौतहटका इट्टा उद्योगमा ४ करोडको क्षति

रौतहट । गत शुक्रबार र शनिबार परेको भीषण हावाहुरीसहितको अविरल वर्षाका कारण रौतहटका इट्टा उद्योगहरूमा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा गरुडा नगरपालिका–५, महम्मदपुरस्थित एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लाभर सञ्चालनमा रहेका करिब ५० वटा इट्टा उद्योगमा ठूलो परिमाणमा नोक्सानी पुगेको हो । सङ्घले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार विभिन्न उद्योगमा सुकाउने क्रममा रहेका करिब १० लाखभन्दा बढी काँचो इट्टा नष्ट भएका छन्। प्रतिईट्टा औसत लागत सात रुपैयाँभन्दा बढी पर्ने भएकाले कुल क्षति करिब चार करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ ।
हावाहुरी र वर्षाका कारण बिके, बीर, पूजा, एमबिआई, सोना, रामजानकीलगायतका उद्योगहरूमा बढी क्षति पुगेको अध्यक्ष साहले बताउनुभयो । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टा मुसलधारे वर्षा र तेज हावाहुरीका कारण गल्दै प्रयोग अयोग्य बनेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इट्टा उद्योगका सञ्चालक प्रेमशंकर यादवले आफ्नो उद्योगमा मात्र करिब ५५ लाख रुपैयाँ बराबरको काँचो इट्टा नष्ट भएको जानकारी दिनुभयो । “हामीजस्ता साना उद्योगीहरू प्रायः बैङ्क ऋणमा निर्भर छौँ । यस्ता विपत्तिका बेला राहत वा सहुलियतको कुनै व्यवस्था छैन,” उहाँले गुनासो गर्नुभयो ।
उद्योगीहरूले काँचो इट्टाको बीमा प्रणाली नहुँदा प्राकृतिक प्रकोपबाट हुने क्षतिमा कुनै राहत नपाएको बताएका छन्। संघका अध्यक्ष साहले लगानी डुब्ने अवस्थामा पुग्दा पनि सरकार, स्थानीय प्रशासन तथा वित्तीय निकायबाट अपेक्षित चासो नदेखिएको बताउनुभयो ।
एक काँचो इट्टा उत्पादन गर्न माटो, पानी, मजदुरीलगायतका खर्च जोड्दा औसतमा सात रुपैयाँभन्दा बढी लागत लाग्ने भए पनि सुकाउने प्रक्रिया पूरा हुनुअघि नै वर्षाले इट्टा नष्ट गरेको उद्योगीहरूको भनाइ छ ।
उद्योगीहरूले सरकार, उद्योग मन्त्रालय, विपद् व्यवस्थापन निकाय तथा बीमा कम्पनीहरूलाई क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा बीमा प्रणाली कार्यान्वयनका लागि तत्काल पहल गर्न माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्