बनिया गाउँमा १ करोड ५० लाखको पूर्वाधार विकास सुरु
बाँके। बाँकेको जानकी गाउँपालिका–५ अन्तर्गत बनिया गाउँमा पूर्वाधार विकासका कामहरू तीव्र गतिमा अगाडि बढाइएका छन्। गाउँभित्रका सबै कोलिया बाटो, मुख्य सडक, नाली निर्माण, ढक्कन ढलान र जीर्ण पोल जडानसम्बन्धी कार्य एकैसाथ सञ्चालन गरिएको छ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष राम प्यारी यादव र वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले संयुक्त रूपमा सडक तथा पूर्वाधार निर्माण कार्यको शिलान्यास गर्दै विकास कार्यलाई गति दिएका छन्।
कुल १ करोड ५० लाख रुपैयाँ लागतमा सञ्चालन हुने योजनाको ठेक्का श्री आर जे कन्स्ट्रक्सन, नारायण–०१, दैलेखले पाएको छ। लुम्बिनी प्रदेश सरकारको समपुरक योजनाअन्तर्गत सुरु गरिएको यो आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अध्यक्ष खाँले तोकिएको समयमा काम पूरा गर्न ठेकेदार कम्पनीलाई स्पष्ट निर्देशन पनि दिएका छन्।
निर्वाचनपछि विकास निर्माणमा तीव्रता दिइएको बताउँदै अध्यक्ष खाँले पालिकाभित्र सडक र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले आफ्नो कार्यकालभित्र वडाका साना–ठूला सबै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ योजनाहरू अघि बढाइएको उल्लेख गर्नुभयो।
बनिया गाउँमा भइरहेको सडक र पूर्वाधार निर्माणले स्थानीय बासिन्दाको आवागमन सहज हुने विश्वास व्यक्त गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्