तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध शिक्षाले वर्तमान विश्वमा शान्ति र सहअस्तित्वको मार्ग देखाउँछ: मन्त्री सिन्हा

रुपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्व परिवेशमा बुद्ध शिक्षाको महत्व झन् बढ्दै गएको बताउनुभएको छ। शुक्रबार चिनियाँ दूतावासद्वारा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय ध्यान कार्यक्रममा बोल्दै उहाँले बढ्दो द्वन्द्व, असहिष्णुता र मानसिक विभाजनका बीच भगवान बुद्धका शिक्षाहरू अझ सान्दर्भिक भएको उल्लेख गर्नुभयो।

मन्त्री सिन्हाले बुद्धका उपदेशले मानवजातिलाई करुणा, सहिष्णुता र आपसी समझदारीको मार्ग देखाउने भएकाले वर्तमान अस्थिर विश्वमा यसको आवश्यकता बढेको बताउनुभयो। उहाँले लुम्बिनी केवल ऐतिहासिक स्थल नभई विश्व शान्तिका लागि मानवताको प्रतीकका रूपमा रहेको धारणा व्यक्त गर्नुभयो।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल–चीनबीच गहिरो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै बौद्ध दर्शनमा आधारित करुणा र सहिष्णुता वर्तमान विश्वका चुनौती सामना गर्न महत्वपूर्ण भएको बताउनुभयो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध शिक्षा कुनै एक धर्म वा समुदायमा सीमित नभई सम्पूर्ण प्राणी जगतका लागि मार्गदर्शक सिद्धान्त भएको बताए। उहाँले लुम्बिनीलाई ध्यान, साधना र आन्तरिक शान्तिको केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, साधक र ध्यान अभ्यासकर्ताहरू सहभागी भएका थिए। सहभागीहरूले ध्यानमार्फत आन्तरिक शान्ति, सहिष्णुता र करुणाको अभ्यास गर्दै विश्व शान्तिको सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button