तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण धनकुटामा लाखौँको क्षति, विवरण सङ्कलन हुँदै, जिल्लाभर विद्युत् अवरुद्ध

धनकुटा। हावाहुरीका कारण धनकुटाका विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ।

हावाहुरीसँगै असिना पानीले सरकारी कार्यालय, सडक, विद्यालय, व्यक्तिका घर, गोठ र कृषि बालीमा क्षति पुर्‍याएको हो । हावाहुरीका कारण रुख ढलेर सोमबार रातिबाट बन्द कोसी राजमार्गको धनकुटा हिले खण्ड भने मङ्गलवार बिहानबाट सञ्चालनमा आएको छ । हावाहुरीका कारण सडक छेउका रुखहरू ढलेपछि धनकुटा–हिले सडक खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थलमा खटिएको थियो । सुरक्षाकर्मीहरूले सडकमा ढलेका रुखहरू हटाएपछि सडक सञ्चालनमा आएको हो । 

हावाहुरीका कारण सरकारी कार्यालयहरू लोकसेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश सङ्ग्रहालय,  विद्यालय लगायतका भवनमा क्षति पुगेको विवरण आएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताउनु भयो । उहाँले अहिले उद्धारको काम भइरहेकोले क्षतिको विवरण सङ्कलन भइरहेको खड्काको भनाइ छ । उहाँले क्षतिको विवरण सङ्कलन सकेपछि विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्ने बताउनु भयो । हावाहुरीका कारण प्रदेश सङ्ग्रहालयमा २० देखि २२ लाखको क्षति भएको सङ्ग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।

विद्युत् अवरुद्ध

सोमबार साँझ आएको हावाहुरीले धनकुटा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। सोमबार रातिबाट अवरुद्ध भएको विद्युत् सेवा मङ्गलवार बेलुकाबाट सञ्चालनको तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ । मङ्गलवार दिउँसो २ बजेसम्म कहाँ कहाँ बिग्रेको छ भनेर पत्ता लगाउने र बेलुकासम्म कम क्षति भएको ठाउँमा सञ्चालनमा ल्याउने तयारी रहेको केन्द्र प्रमुख विजली प्रसाद यादवले बताउनु भयो । हावाहुरीका कारण धनकुटा आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको यादवको भनाइ छ । प्राधिकरणका अनुसार हावाहुरीका कारण कतै रुख तथा हाँगाबिँगा लाइनमा खसेको, बाहिरी वस्तु उडेर तारमा अड्किएको, तार चुँडिएको वा पोल ढलेको हुन सक्ने भएकाले पूर्ण निरीक्षण नगरी लाइन सञ्चालन गर्दा जोखिम हुन सक्छ । त्यस्तै चट्याङका कारण कसैको घरको मिटर वा वायरिङमा क्षति पुगेको आशङ्का भएमा तुरुन्त मेन स्विच बन्द गरेर सुरक्षित रहन नेपाल विद्युत् प्राधिकरण धनकुटाले वितरण केन्द्रले उपभोक्तालाई आग्रह गरेको छ ।

व्यक्तिगत घरमा क्षति

हावाहुरीका कारण जिल्ला अधिकांश घरमा घरमा क्षति पुगेको छ । यस्तै गोठ, तथा सवारी साधनमा पनि क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका धनकुटाका अनुसार मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीले जानकारी दिनुभयो । अधिकांश घरका छाना उडाएको छ भने घरमा त्रिपाल टाँगेर बस्नुपर्ने आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button