स्याङ्जामा २४ उम्मेदवारमध्ये १८ को जमानत जफत
स्याङ्जा । प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा उठेका अधिकांश उम्मेदवारले न्यूनतम मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं। १ र २ मा गरी प्रतिस्पर्धा गरेका २४ उम्मेदवार मध्ये १८ जनाले जमानत जोगाउन सकेनन् ।

निर्वाचन आयोगको नियम अनुसार प्रत्यक्षतर्फ उम्मेदवारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसके जमानत जफत हुने व्यवस्था छ । यही प्रावधानका आधारमा दुवै क्षेत्रमा ९र९ जना उम्मेदवारको धरौटी जफत भएको हो ।
निर्वाचन परिणाम अनुसार क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका धनञ्जय रेग्मी विजयी हुनुभएको छ भने नेपाली काँग्रेसका भरतराज ढकाल र नेकपा एमालेका मिनप्रसाद गुरुङ उपविजेता हुनुभएको छ ।
त्यसै गरी क्षेत्र नं। २ मा रास्वपाका झविलाल डुम्रे विजयी हुँदा काँग्रेसका भागवत प्रकाश मल्ल दोस्रो र एमालेका खिमबहादुर थापा तेस्रो स्थानमा रहनुभएको छ । यी ६ उम्मेदवारले मात्र आवश्यक मत ल्याएर जमानत सुरक्षित गरेका छन् ।
उम्मेदवारी दर्ता गर्दा प्रत्येक उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ भने महिला तथा दलित उम्मेदवारका लागि ५० प्रतिशत छुट सहित ५ हजार रुपैयाँ बुझाउनुपर्ने प्रावधान छ । तोकिएको न्यूनतम मत प्राप्त गर्न नसक्ने उम्मेदवारको उक्त धरौटी जफत हुने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन परिणामले स्याङ्जामा मुख्य प्रतिस्पर्धा ठूला दलहरूबिच केन्द्रित भएको देखिएको छ भने साना दल तथा स्वतन्त्र उम्मेदवारले अपेक्षित समर्थन पाउन नसकेको विश्लेषण गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्