तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा नेकपा सहित १३ उम्मेदवारको जमानत जफत

धनकुटा। एक मात्रै निर्वाचन क्षेत्र रहेको १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ ।

१७ उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीसहित १३ जनाले १० प्रतिशत मत समेत कटाउन नसकेका हुन्। १ लाख १६ हजार ४ सय २५ मतदाता धनकुटामा ६४ हजार ९१ मत खसेको थियो । जसमा ५९ हजार २ सय ८ मत सदर तथा ४ हजार ८ सय ८३ मत बदर भएको थियो । निर्वाचनमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार धनकुटामा १७ उम्मेदवार मध्ये १३ जनाको जमानत जफत भएको छ । 

धनकुटाबाट विजयी भएका एमालेका राजेन्द्रकुमार राई, नेपाली काँग्रेसका दिनेश राई, श्रम संस्कृति पार्टीका सानबहादुर राई र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी बाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो । धनकुटामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले १ हजार ६ सय ६५, स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार १ सय ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ७ सय ३ र जनता समाजवादी पार्टीका आइतराज लिम्बूले ४ सय ३२ मत मात्रै पाउँदा जमानत जफत भएको हो । यस्तै जनता समाजवादी पार्टीका निशान राईले २ सय ३८, राष्ट्रिय परिवर्तन पार्टीका सालिकराम राईले २ सय २१ र नेपाल कम्युनिस्ट पार्टी माओवादीका रविन कुमार राईले १ सय ३२ मत मात्रै पाएका छन् । 

मत परिणामअनुसार ६ जना उम्मेदवारले सय मत समेत कटाउन सकेनन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मीले २२ मत पाएका छन् । यस्तै आम जनता पार्टीका प्रेमबहादुर थापाले ५५, स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जनले ५६, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५, मंगोल नेशनल अर्गनाइजेशनका सागर राईले ८२ र स्वतन्त्र उम्मेदवार जीतेन्द्र राईले ९१ मत प्राप्त गरेका छन् ।

सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले १८ हजार १ सय ३२ मत प्राप्त गरेर विजयी भए । नेपाली काँग्रेसका दिनेश राईले १४ हजार २ सय ५७ मत प्राप्त गरेर दोस्रो भएका थिए । यस्तै ११ हजार ९ सय ३२ मत प्राप्त गरेर श्रम संस्कृति पार्टीका सानबहादुर राई तेस्रो र ९ हजार ९ सय ४४ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी चौथो बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button