तपाईँ सुन्दै हुनुहुन्छः

रवीन्द्र मिश्रद्वारा राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा, तत्काल स्वतन्त्र रहने घोषणा

काठमाडौं । काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रो पटक पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिनुभएको घोषणा गर्नुभएकाे छ।

मिश्रले आज सार्वजनिक गरेको विज्ञप्तिमार्फत आफूले धेरै सोचविचार गरेर आजकै मितिबाट पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिनुभएकाे छ । उहाँले राजसंस्था पुनर्स्थापना र सुशासनका मुद्दामा भने आफ्नो अडान यथावत रहने र अब केही समय स्वतन्त्र रूपमा आफ्ना विचार राख्ने बताउनुभएकाे छ।

मिश्रले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा अगाडि बढाउन राप्रपा असफल भएको उल्लेख गर्नुभएकाे छ । यसमा पार्टीको वरिष्ठ उपाध्यक्षका रूपमा आफू पनि जिम्मेवार रहेको उहाँले स्वीकार गर्नुभएकाे छ ।

गत नौ वर्षको राजनीतिक यात्रामा आफूले इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उहाँले देशको हितभन्दा माथि कुनै व्यक्तिगत स्वार्थ नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ र सहयोग गर्ने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभएकाे छ । साथै, हालै निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना पनि दिनुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button