बाँकेमा ६३.४६ प्रतिशत मतदान, मतपेटिका सङ्कलन
खजुरा (बाँके) I ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ बाँके जिल्लामा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।
बाँकेमा आज बिहीबार सम्पन्न मतदानमा ६३.४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार बाँके निर्वाचन क्षेत्र नं १ मा ७५ हजार १९९, क्षेत्र नं २ मा ७२ हजार ६०९ र क्षेत्र नं ३ मा ७४ हजार ५५८ मत खसेको छ । जिल्लाभर जम्मा दुई लाख २२ हजार ३६६ मत खसेको हो । त्यसमा महिला एक लाख १५ हजार ४५९, पुरुष एक लाख छ हजार ९०४ गरी जम्मा दुई लाख २२ हजार ३६६ मत खसेको प्रमुख शाहीले बताउनुभयो ।
बाँकेमा मतदाता तीन लाख ५० हजार ३७१ जना रहेका छन् । जिल्लाभरि अहिले मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको छ । क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, क्षेत्र नं २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं ३ को कपास विकास समितिको कार्यालयमा मतगणना गरिँदैछ । अब केहीबेरमा मतपेटिका सङ्कलनकार्य सकिएपछि सर्वदलीय बैठक बसी मतगणनाबारे निर्णय लिइनेछ । रासस








प्रतिक्रिया राख्नुहोस्