तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा ५० प्रतिशत बढी मत खस्यो

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार भएको मतदानमा धनकुटामा ५० प्रतिशत भन्दा माथि मत खसेको छ । १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्लामा ५० प्रतिशत भन्दा माथि मत खसेको हो । कति मत खस्यो भनेर सङ्कलनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभयो । उहाँले मतदान सकिएको करिब डेढ घण्टा पछि पनि सङ्कलनको काम भइरहेको बताउनु भयो । मतदान अधिकृतहरू बाटामा भएकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको र प्रहरी मार्फत तथ्याङ्क सङ्कलन भइरहेको बताउनु भयो । 

धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता छन् । जिल्लामा मतदानका लागि १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र तोकिएको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको थियो । मतदान केन्द्रहरूमा १ हजार २ जना कर्मचारी खटाइएको थियो ।

मतदान सकिएपछि अहिले धनकुटा सदरमुकामको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने काम भइरहेका छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको र राति १० बजेसम्म मतपेटिका सङ्कलन भइसक्ने प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो । उहाँले नजिक क्षेत्रका मतपेटिका आइपुगेका छन् भने टाढाको मतपेटिका आउन मध्यरातसम्म लाग्ने देखिएको छ । 

सबै मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसेर मत गणना थाल्ने समयको टुङ्गो लगाइने छ । सम्भवतः बिहीबार राती वा शुक्रबार बिहानसम्ममा मतगणना थालिने मुख्य निर्वाचन अधिकृत इङनामले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button