तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा ६० प्रतिशत मतदानको प्रारम्भिक अनुमान

जनकपुरधाम । धनुषा जिल्लामा ६० प्रतिशत भन्दा बढी मतदाताले मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्लाका ६ सय ४५ मतदान केन्द्रमा बिहान ७ बजेबाट नै मतदान शुरु भएर ५ बजेसम्ममा सो प्रतिशतले मतदान भएको प्रारम्भिक अनुमान गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले  जानकारी दिनु भएको हो ।

धनुषा जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको  पनि प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनु भएको भयो ।

धनुषाको ४ निर्वाचन क्षेत्रमा गरेर ५ लाख १४ हजार ५ सय ७१ जना मतदाताहरू रहनु भएकोमा त्यस मध्ये ६० प्रतिशतले मतदान गरेको छ । यता प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख प्रदेश निर्वाचन अधिकृत रोम बहादुर महतले निर्वाचनको मत प्रतिशतका लागि फारम भर्ने काम भइरहेको बताउनु भयो ।

यता विभिन्न मतदान केन्द्रहरूमा मुचुल्का उठाउने काम जारी रहेको र लाहाछाप गरेर आजै ६ बजेबाट निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानीका लागि सवारी साधनको व्यवस्थापन भइरहेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनु भयो ।

मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा आइसकेपछि सर्वदलीय सहमतिको आधारमा आजै देखि मतगणनाको शुरुआत गरिने पनि निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएको छ ।

मतगणनाका लागि धनुषाको ४ वटै निर्वाचन अधिकृतको कार्यालयहरूमा तयारी  गर्ने काम सकी सकिएको छ । मधेश प्रदेशका अन्य जिल्लाहरूमा पनि सोही प्रतिशतमा मतदानको अनुमान गरिएको छ ।

यसै बीच मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले मधेश प्रदेशका २ हजार १ सय ६० मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जानकारी दिनु भएको छ । मतपेटिका ढुवानी  पनि शुरु  भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button