रुपन्देहीमा मतगणना सुरक्षाका लागि आधुनिक प्रबन्ध लागू
रुपन्देही । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थललाई सुरक्षित र व्यवस्थित बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा १० फिट अग्लो तारजाली जडान गरिएको छ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार मतपत्रको सुरक्षा र मतगणनालाई मर्यादित बनाउन उच्च तारजाली लगाइएको हो। मतपत्र सुरक्षित रहने गरी आवश्यक प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगरमा हुनेछ। क्षेत्र नम्बर २ को मतगणना बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालयमा गरिनेछ। क्षेत्र नम्बर ३ को मतगणना भैरहवा नमुना माध्यमिक विद्यालयमा हुनेछ। क्षेत्र नम्बर ४ को मतगणना कोटहीमाई गाउँपालिकाको कार्यालय सभा हलमा तथा क्षेत्र नम्बर ५ को मतगणना गैडहवा गाउँपालिकाको कार्यालयमा तोकिएको छ।
मतगणना स्थलमा विद्युत् आपूर्ति सहज बनाउन रिचार्ज हुने बत्ती जडान गरिएको छ भने सम्पूर्ण परिसरमा सीसीटीभी क्यामेरा राखिएको छ। मतगणनामा खटिएका कर्मचारी र सुरक्षाकर्मी बाहेक अन्यलाई तारजालीभित्र प्रवेश नदिइनेछ। उम्मेदवारका प्रतिनिधिलाई भने तारजाली बाहिरबाट अवलोकन गर्ने व्यवस्था गरिएको छ।
२०७४ सालमा भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनका क्रममा मतपत्र च्यातिएको घटनापछि देशभर मतगणनास्थलमा तारजाली लगाउने अभ्यास सुरु गरिएको हो।







प्रतिक्रिया राख्नुहोस्