तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महासचिव पोखरेलद्वारा पाँच सङ्कल्प सार्वजनिक

देउखुरी (दाङ) । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँच वर्षभित्र गर्ने पाँच सङ्कल्प सार्वजनिक गर्नुभएको छ ।

उहाँले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको सङ्कल्प आज यहाँ सार्वजनिक गर्नुभयो । उक्त सङ्कल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गर्नुभएको छ ।

गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उहाँको सङ्कल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँ गाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने सङ्कल्पमा भनिएको छ ।

पोखरेलले आफ्ना सङ्कल्प सार्वजनिक गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमुना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले अब दाङ जिल्लाको जनप्रतिनिधिका रूपमा राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब दाङबासी ज्ञापनपत्र बुझाउने ठाउँमा होइन बुझ्ने  ठाउँमा हुनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button